काठमाडौं । सुन्दर यातायातले बिजुली गाडी चलाउने भएको छ ।
सरकारले सार्वजनिक यातायात चलाउन अनुमति दिए पनि यातायात व्यवसायी र संघले सरकारसँग विभिन्न माग राख्दै गाडी चलाउन आनाकानी गरिरहेका बेला सुन्दर यातायातले लकडाउन अगाडिकै भाडामा बिजुली गाडी चलाउने भएको हो ।
सुन्दर यातायातले सरकारले ५० प्रतिशत धेरै भाडा लिन पाउने निर्णय गरे पनि आफूहरुले सरकारले भनेअनुसार नै आधा यात्रु हाली पुरानै भाडामा गाडी चलाउने बताएको छ ।
सो यातायातले २ वटा पुरानै रुटमा र २ वटा नयाँ रुटमा सेवा सञ्चालन गर्ने भएको छ ।
सुन्दर यातायातले रिङ रोडमा आफ्नो पुरानो रुट भएको बताउँदै सो रुटमा सूर्यविनायक–जमल–रत्नपार्क रुटमा गाडी चल्ने बताएको छ ।
गाडीमा नेपाल सरकारले तोकेभन्दा सुरक्षित स्वास्थ्य सुरक्षा अपनाइने यातायातले दाबी गरेको छ ।
यातायात सञ्चालनका क्रममा सरकारले तोकेअनुसार चालक, सह–चालकहरुलाई बुट, प्रोटेक्टिभ ग्लास, प्रोटेक्टिभ सुट, वासएबल ग्लब्स, मास्क उपलब्ध गराइ प्रयोग गराउने बताएको छ । यातायातले प्रत्येक यात्रुको तापक्रम जाँच्ने पनि बताएको छ ।
उसले भनेको छ, 'मास्क नलगाउने यात्रुलाई चढ्न दिइने छैन। त्यस्तै मास्क नलगाएका ६० वर्ष माथिकालाई हामी निःशुल्क मास्क दिन्छौं।’
घातक किटाणुबाट जोगाउन प्रत्यक दिन गाडीलाई स्यानिटाइज गरिने र प्रत्येक ट्रिपपछि पनि हाते पम्पबाट स्प्रे गरिने पनि यातायातले जनाएको छ ।