चितवन । चितवनमा निषेधाज्ञा केही खुकुलो हुने भएको छ ।
यसअघि लगाइएको निषेधाज्ञा शुक्रबार राति सकिनै लाग्दा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सूचना जारी गरी सो कुरा जानकारी दिएका हुन् ।
प्रमुख जिल्ला अधिकारीद्वारा जारी गरिएको सूचका आधारमा अब बिहान १० देखि अपरान्ह ४ बजेसम्म किराना पसल, निर्माण सामग्रीका पसल, फेन्सी र कपडा पसल सञ्चालन हुनेछन् भने औषधि, पानी, ग्यास, दूध, तरकारी, खाद्यान्न पसल, पेट्रोल पम्प आदि जुनसुकै समयमा निर्वाध रुपमा २४ घन्टै सञ्चालन हुनेछन् ।
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै भदौ ३१ गतेसम्मलाई निरन्तरता दिएको छ ।
त्यसैगरी, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भीडभाड नहुने गरी कार्यालय सञ्चालन गर्न पाइनेछ । बैंक, वित्तीय संस्था र सहकारीका कार्यालयमा ५० प्रतिशत कर्मचारी उपस्थित हुने गरी सञ्चालन हुनेछन् । कृषि उत्पादन तथा कृषि औजार ढुवानीका लागि प्रयोग हुने सवारीसाधन, लामो तथा छोटो दूरीका मालसामान ढुवानी गर्ने साधन चल्नेछन् ।