सिमरा । बाराको पथलैयामा तीव्र गतिमा रहेको गाडीको ठक्करबाट पाटेबाघको मृत्यु भएको छ ।
सिमरा उपमहानगरपालिका–१ आधाभार जंगल क्षेत्रमा गाडीको ठक्करबाट पर्सा राष्ट्रिय निकुञ्जको वयस्क पोथी पाटेबाघ मरेको हो ।
काठमाडौँबाट सर्लाही जाँदै गरेको बा १६ च ८१ नम्बरकाे निजी गाडीले शनिबार बिहान ७ बजेर १६ मिनेट जाँदा ९ वर्षको पाथी पाटेबाघलाई ठक्कर दिएको हो ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–पथलैया खण्डको आधाभारमा गाडीले बाघलाई ठक्कर दिएको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेशकुमार यादवले जानकारी दिए ।
गाडीको ठक्करबाट टाउकोमा चोट लागेको बाघ घटनास्थलमै मरेकाे उनले बताए । घटनास्थल पथलै चोकबाट एक किलोमिटर उत्तरमा आधाभार जंगल क्षेत्र राष्ट्रिय निकुञ्जको मुल गेटबाट झण्डै दुई किलोमिटरको दूरीमा पर्छ ।
ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको र बाघको पोस्टमार्टम गर्ने तयारी भएको सहायक संरक्षण अधिकृत यादवले बताए ।पछिल्लो गणना अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा १८ वटा पाटेबाघ छन् ।