कर्णाली प्रदेश सरकारले असार १ गते आगामी वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरे यता बजेटमाथि छलफल हुने वातावरण बनेको छैन । तीन पटक बैठक स्थगित भयो । यही असार ११ गते बाह्रौं बैठक बस्यो तर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सदन अवरुद्ध गरेपछि स्थगित भयो । यो क्रम निरन्तर चलिरहेको छ ।
आज पनि एमालेले सदन अवरोध गरेपछि बैठक स्थगित भएको छ । सभामुख राजबहादुर शाहीले बैठक शुरु गर्ने बित्तिकै प्रमुख प्रतिपक्ष दल एमाले प्रदेशसभा दलका नेता यामलाल कँडेलले सरकार र सदनमा आफ्ना कुरा सुनुवाई नभएको टिप्पणी गरे । एउटै पार्टी प्रतिपक्ष र सत्तापक्ष हुने गरी चलाउन खोजिएको बैठक संसदीय अभ्यास विपरीत भएको उनले तर्क गरे ।
नेता कँडेलले भने, “एमाले कर्णाली प्रदेशसभा दलको सदस्यको हैसियतमा सर्वोच्च अदालतले जेठ २७ गते पुनर्बहाली गरेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाही दलीय अनुशासनअनुसार चलेको अवस्था छैन । यसअघि सभामुख शाहीले चारै जनलाई एमाले प्रदेशसभा दलको सदस्यको हैसियत कायम रहेको पत्र पढेर जानकारी गराउनुभएको थियो ।”
सदन अवरोधका कारण सभामुख शाहीले असार १८ गते शुक्रबार दिउँसो २ः०० बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराए ।