चार महिनापछि जापानको टोकियोमा हुने तय भएको विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक एक वर्ष पछिको लागि स्थगित गर्ने भएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबे र अन्तरराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचबीच मङ्गलबार दिउँसो भएको भिडियो वार्तामा केही समय पछाडि ओलम्पिक खेल सार्ने विषयमा छलफल भएको थियो ।
आइओसीले आज विज्ञप्ति जारी गर्दै ओलम्पिक अर्काे वर्षको समरमा सर्ने जनाएको छ । विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासको दौरानबीच ओलम्पिक सरेको हो । यसअघि जापान ओलम्पिक कमिटि र आइओसीले तोकिएका समयमा नै ओलम्पिक आयोजना गर्ने निर्णयमा अडिग रहे पनि चौतर्फी दवावपछि आइओसीले निर्णय परिवर्तन गर्दै ओलम्पिक एक वर्ष पछि सार्न सहमत भएको हो ।
आइतबार राति मात्रै आइओसीले तत्काल ओलम्पिक सार्ने समय नभएको र चार सातापछि ओलम्पिकको बारेमा निर्णय गरिने बताएको थियो । तर, आइओसीको यो निर्णयससँगै ओलम्पिकमा बढी पदक जित्न सक्ने राष्ट्र बेलायत, अष्ट्रेलिया र क्यानडाले यस्तै अवस्थामा ओलम्पिक आयोजना भए आफ्नो खेलाडी नपठाउने भन्दै चौतफी दवाव दिएका थिए । त्यसपछि नै आइओसी पछि हटेको हो ।
अब ओलम्पिक अर्काे वर्षको समरमा हुनेछ । अर्को वर्षको लागि मिति भने तोकिएको छैन । टोकियो ओलम्पिक जुलाई २४ देखि अगष्ट ९ सम्म हुने तालिका थियो ।
चार महिना पछाडि सुरु हुन लागेको ओलम्पिक खेलकाे मिति सार्दा तीन अर्ब असी करोड डलर घाटा लाग्ने आयोजकले जनाएको छ । अहिलेसम्म जापानमा झण्डै एक हजार ८ सय सङ्क्रमित बिरामी रहेकाले यसलाई नियन्त्रण गर्न जापान सरकार केन्द्रित बनिरहेको छ ।