मंसिर ०७, २०८१, शुक्रबार
               

विश्वकप छनोट खेल्न नेपाली फुटबल टोली कुवेतमा

नेपाल फ्ल्यास
जेठ १७, २०७८

ADVERTISEMENT

विश्वकप फुटबलको छनोट खेल खेल्न नेपाली टोली कुवेत पुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल नेपाली टोली कुवेत पुगेको हो । 

इराकसितको मैत्रीपूर्ण खेल खेलेर टोली त्यहाँबाट कुवेत प्रस्थान गरेको हो । कुवेतमा नेपाली टोलीले तीन खेल खेल्ने छ । पहिलो खेल नेपालले जेठ २० गते चाइनिज ताइपेइसित खेल्ने छ । दोस्रो खेल जेठ २४ गते जोर्डनसित तथा तेस्रो खेल जेठ २८ मा अस्ट्रेलियासँग खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । 

विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडी छनोट गरेका छन् । नेपाली टोली स्थलमार्ग हुँदै कुवेत पुगेको हो । शनिबार नेपाल मैत्रीपूर्ण खेलमा इराकसित ६–२ गोलअन्तरले पराजित भएको थियो । कुवेत पुगेपछि नेपाली टोलीका सबै सदस्यको पिसिआर परीक्षण गरिएको थियो । सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको एन्फाले जनाएको छ । 

नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, पूजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् । 

विश्वकप छनोटमा नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हासिल गरेको छ भने चार खेलमा पराजित भएको छ । समूह बी मा रहेको नेपाल तीन अंक जोड्दै चौथो स्थानमा छ । सोही समूहमा रहेको चाइनिज ताइपेइ अंकबिहीन छ । समूहको शीर्ष स्थानमा १२ अंकका साथ अस्ट्रेलिया छ भने दोस्रो स्थानमा १० अंकसहित कुवेत छ । यस्तै १० अंकका साथ जोर्डन तेस्रो स्थानमा छ । 

विश्व फुटबल महासंघ (फिफा)को बरीयतामा अस्ट्रेलिया ४१औँ स्थानमा, जोर्डन ९५औँ, चाइनिज ताइपेइ १४१औँ तथा नेपाल १७१औँ स्थानमा छ । 


कस्तो लाग्यो ?

यो पनि