काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटमा शनिबार दुई खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने पहिलो खेलमा भैरहवा ग्लाडियटर्स र काठमाडौं किङ्स इलेभनबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ९ बजे हुनेछ ।
दोस्रो खेलमा विराटनगर वारियर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे १ बजे सुरु हुनेछ ।
शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा दोस्रो जित निकाल्ने योजनामा हुनेछ । भैरहवाले ३ खेलमा ४ अंक जोडेको छ । भैरहवा अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं पनि दोस्रो जितको खोजीमा रहेको छ । काठमाडौं २ खेलमा २ अंक जोडेर पाँचौ स्थानमा छ । विराटनगर पहिलो जित निकाल्न चाहन्छ । करण केसीको कप्तानीमा रहेको विराटनगरले ३ खेलमा जित निकाल्न सकेको छैन ।
विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा भने दोस्रो जित निकाल्न चाहन्छ । पोखरा ३ खेलमा ३ अंक जोडेर चौथो स्थानमा रहेको छ ।प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।