मंसिर ०७, २०८१, शुक्रबार
               

मोदीको सार्क रणनीतिक योजना क्षणिक कि दीर्घकालीन ?

नेपाल फ्ल्यास
चैत ०२, २०७६

ADVERTISEMENT

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जुध्न सार्क राष्ट्रहरूको नेतृत्वमा बलियो रणनीति अवलम्बन गर्नुपर्ने प्रस्ताव गरेसँगै निष्क्रिय दक्षिण एशियाली देशहरूको संगठन (सार्क) पुन सक्रिय बन्न खोजेको देखिन्छ । 

मार्च १३ (फागुन ३०) मोदीले ट्विटमार्फत कोरोना भाइरस(कोभिड–१९)विरुद्ध लड्न सार्क राष्ट्र एक जुट हुन आह्वान गरेसँगै सार्कको चर्चा सुरु भएको हो । सन् २०१४ मा काठमाडौंमा १८ औं सार्क शिखर सम्मेलन भएपछि कुनै पनि गतिविधि भएका छैनन् । कोरोना भाइरसविरुद्ध लड्न ल्याएको मोदीको यो साझा रणनीतिक योजनालाई दक्षिण एसियाली राष्ट्र (सार्क) का सदस्य मुलुकले सर्तकताका साथ हेरेका छन् ।  
सार्कको नेतृत्वलाई कोरोनाभाइरस विरुद्धको लडाइँका लागि बलियो रणनीति तय गर्ने मोदीको प्रस्तावमा सार्क राष्ट्र नेपाल, माल्दिभ्स, श्रीलङ्का, भुटान, बंगलादेश र अफगानिस्तानका नेताहरूले स्वागत गरिसकेका छन् । तर, छिमेकी मुलुक पाकिस्तानले भने मोदीले ल्याएको साझा रणनीतिक प्रस्तावको विषयमा सामेल हुने कि नहुने भन्ने विषयमा मुख खोलेको छैन । 

१९ औंँ सार्क शिखर सम्मेलनको अध्यक्षता गर्दै पाकिस्तानले सन् २०१६ मा गर्ने मिति तय भए पनि भारत र पाकिस्तानको विवादका कारण छायामा परेको थियो । त्यति बेला आफ्नो सैनिक व्यारेकमा पाकिस्तानको हात रहेको आरोप लगाउँदै भारतले शिखर सम्मेलन बैठक बहिष्कार गरेपछि यो सार्कको गतिविधि अवरुद्ध हुन पुग्यो । त्यसपछि सार्कको कुनै पनि औपचारिक कार्यक्रम गर्न सकेन । 
सार्क सम्मेललन अनिश्चित भएपछि नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रधानमन्त्रीको शपथ खाइसकेपछि पाकिस्तानका तत्कालीन प्रधानमन्त्री शाहिद खकान अब्बासी नेपालको भ्रमणमा आएका थिए । सार्कको अध्यक्ष भएको नाताले नेपालले सक्रियता देखाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरे । त्यसपछि पाकिस्तानमा आम निर्वाचन भयो, अब्बासी प्रधानमन्त्रीबाट हटे । नयाँ प्रधानमन्त्री इमरान खान आए । इमरान खान प्रधानमन्त्री भएपछि भारत–पाकिस्तानबीच सम्बन्ध सुधार हुने आशा गरिएको थियो । तर, गत वर्ष भएको भारत–पाकिस्तानबीचको विवादले जटिल मोड लियो । 

सार्क शिखर सम्मेलनको सट्टा भारतले (भुटान–बंगलादेश–भारत–नेपाल) अर्थात् बीबीआइएन नामक उपक्षेत्रीय संगठनको अवधारणा अगाडि बढायो । भारतले उपक्षेत्रीय संगठन गठन गर्नुलाई धेरैले यसलाई पाकिस्तानलाई अलग्याउने रणनीतिको रुपमा हेरेका छन् । सन् २०१६ मा मोदीले सार्क शिखर सम्मेलनकै आसपासमा बुहपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमिस्टेक)लाई अगाडि सारेर पाकिस्तानलाई अलग्याउन खोजेको देखिन्छ । 

कोरोना भाइरस(कोभिड–१९) को विश्वव्यापी प्रभावपछि भारतले सार्क सम्झनुलाई कतिपयले भने सकारात्मक रुपमा पनि लिएका छन् । महामारीको रुपमा विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमण भइरहेका बेला भारतीय प्रधानमन्त्री मोदीले सार्क राष्ट्र सम्झनु सकारात्मक कदम हो । यद्यपी मोदीले सार्कको विषय कति लामो समयसम्म टिक्ला त्यो भने आगामी दिनले देखाउनेछ ।

मोदीको रणनीतिक योजना
मोदीले विश्वव्यापी बनेको कोरोना भाइरससँग जुध्न सार्कसँगै विमिस्टेकको नाम पनि लिन सक्थे । तर, उनले विमिस्टेक र सार्कलाई एक साथ लिएर जान सकेनन् । 

भारतकै कारण सन् २०१४ देखि ओझेलमा परेको दक्षिण एशियाली राष्ट्र (सार्क) कोरोना भाइरसकै कारण जागरुक बनेको हो । मोदीको साझा रणनीतिक कोरोना भाइरसका लागि मात्रै हो या दीर्घकालीनसम्म जान्छ भन्ने विषयमा केही समय कुर्नुपर्ने विदेश मामिलाका जानकारहरूको भनाइ छ । कोरोना भाइरसविरुद्ध लड्नका लागि उनले सार्कको नाम मात्रै सम्झनु र आफैले नेतृत्व गरेको बिमिस्टेकको नाम नलिनुलाई अर्थपूर्ण रुपमा हेर्न सकिने विदेश मामिलाका जानकारहरू बताउँछन् । 
विश्व राजनीतिमा बलियो बन्दै गइरहेका मोदी क्षेत्रीयस्तरमा कमजोर रहेकाले कोरोना भाइरसको नाममा रणनीतिक योजना ल्याएको हुन सक्ने विदेश मामिलाका जानकार बताउँछन् । क्षेत्रीय रुपमा शक्ति सन्तुलनमा कमजोर भएरै कोरोनालाई ‘क्यास’ गर्दै आफ्नो उपस्थिती बलियो बनाउन खोजेको देखिन्छ । 
भारत र पाकिस्तानबीचको चिसोपनले सार्क ओझेलमा
सन् २०१४ मा पहिलो पटक निर्वाचित हुदाँ प्रधानमन्त्री मोदीले आफ्नो सपथग्रहणमा सार्क राष्ट्रका प्रमुखहरूलाई निम्ता गरेका थिए । तर, सन् २०१६ सम्म आइपुग्दा मोदीले पाकिस्तान बाहेकका राष्ट्रलाई समेटेर बिमिस्टेकको नेतृत्व गरे । सन् २०१९ मा दोस्रो पटक प्रधानमन्त्री भएर सपथ खाने समयमा उनले सार्क सम्झेनन् बोरु आफैले नेतृत्व गरेको बिमिस्टेक राष्ट्रका प्रमुख र नेताहरूलाई बोलाए । सन् २०१९ सम्म आइपुग्दा पाकिस्तान र भारतको सम्बन्धमा चिसोपन आयो । दुई देशको यही चिसोपनका कारण ३० वर्षे इतिहास बोकेको सार्क निष्कृय बन्न पुग्यो । अघिल्लो वर्ष भारतले कश्मीरको विशेष हैसियत खारेज गर्ने निर्णयसँगै दुई देशबीच थप विवाद भयो । भारतले कश्मीरलाई विशेष राज्यको हैसियत खारेज गरेसँगै व्यापक धरपकड पछि दिल्ली र इस्लामाबादबीच थप दूरी बढेका विवरणहरू आएका थिए ।
यस कारण नजिक बन्न सक्छन् भारत र पाकिस्तान
भारतले तीन साता अघि पाकिस्तानको इस्लामाबादमा भएको क्षेत्रीय सहकार्य अवधारणा साङ्घाई सहयोग परिषद्को प्रतिरक्षा तथा सुरक्षासम्बन्धी बैठकमा भाग लिएको थियो । पाकिस्तान पनि सो परिषद्को सदस्य राष्ट्र हो । साङ्घाई सहयोग परिषद्का बैठक भारतमा हुने तय भएकाले पाकिस्तानको सहभागिता पनि हुन सक्नेछ । यस कारण मोदीले कोरोना भाइरसको नाममा सार्कलाई सम्झेको हुन सक्छन् ।

 


कस्तो लाग्यो ?

यो पनि