सिन्धुपाल्चोकको मेलम्चीमा बाढी पीडितलाई पुनः स्थापनाका लागि बोधिसत्त्व बिहारले राहत सामग्री वितरण गरेको छ। बोधिसत्त्व विहारको तर्फबाट हरि खनाल, सागरसिंह थापा र विवेक श्रेष्ठलगायतले सिन्धुपाल्चोक जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् । बुढानीलकण्ठमा बौद्ध गुम्बा निमार्ण गरिहरेका बोधिसत्त्व बिहारका मास्टर बुद्ध (धर्मगुरु) वी हे वाङ सीले काठमाडौंबाट सामग्री हस्तान्तरण गरेका थिए ।
बोधिसत्त्व बिहारको तर्फबाटलगिएको करिब १६ लाख रुपैयाँ बराबरको सामग्री मेलम्ची बजारस्थित नेपाली सेनाको कालीजंग गणमा हस्तान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी नेतृत्वको विपद् व्यवस्थापन समिति अन्तर्गत नेपाली सेनाले राहत लिँदै आएको छ । एकद्धार प्रणालीबाट राहत वितरण गर्ने भन्दै राहत सङ्कलन भइरहेको छ । बोधिसत्त्व बिहारले दिएको पुनर्स्थापना तथा राहत सामग्रीमा ९०/९० सेट कुकर, कराई, थाल कचौरालगायत भाँडाकुँडा सेट, ९०–९० वटा बालबालिका,तथा वयस्कका कपडाहरू र ९० थान त्रिपाल तथा ओछ्याउने म्याट्रेसलगायतका सामग्री थिए ।
बोधिसत्त्व बिहारले मेलम्ची क्षेत्रमा आवश्यक औषधिसमेत पठाउने घोषणा गरेको छ । राहत सामग्री हस्तान्तरण गर्दै प्रतिनिधि हरि खनालले बाढीबाट विस्थापित तथा संकटमा परेका परिवारलाई पुनः स्थापना गर्न आफ्नो संस्था सदैव लागिरहने बताए ।
बोधिसत्त्व बिहारले शनिवार हेलम्बुमासमेत राहत पठाएको छ । धेरैले मेलम्चीमा मात्रै राहत दिने गरेको र केही टाढा रहेको हेलम्बुमा कुनै पनि सङ्घसंस्था नगएको जानकारी पाएपछि राहत तथा पुन:स्थापनाको सामग्री पठाइएको हो ।
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र बाढीले नराम्रोसँग प्रभावित बनेको छ । मङ्गलवाररातिबाट आएको बाढीले हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चनौटे, ग्याल्थुम र मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजारका कयौँ घर बगाएको छ । १२ जना बढीले ज्यानसमेत गुमाएका छन् । त्यस्तै बाढीका कारण कयौँ बेपत्ता भएका छन् ।
मेलम्ची र इन्द्रावतीमा आएको बाढीले मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङ दुवै सडक सञ्जाल सम्पर्कविच्छेद भएको छ । हेलम्बुबाट बग्ने मेलम्ची खोलामा निरन्तर लेदो बगिरहेको छ । मेलम्ची बजार क्षेत्र एकै रातको बाढीले बगरमा परिणत गरेको छ। सडक, पुल, भवन, होटल, रिपोर्ट, खेत, फार्महरू सबै बगरमा परिणत भएका छन् ।